काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उम्मेदवारी मनोनयनमा शुल्क तोकेको छ । आगामी अक्टोबरमा काठमाडौंमा हुने विश्व सम्मेलनमा सकेसम्म कम उम्मेदवारी पार्ने योजनाका साथ अध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बन्न अत्यधिक बढी शुल्क तोकिएको हो ।

अन्तराष्ट्रिय कार्यकारी सचिवालयको निर्णयसहितको सिफारिसका आधारमा निर्वाचन समितिले नवौं अन्तराष्ट्रिय महाधिवेशनका लागि उम्मेदवार मनोनयन शुल्क निर्धारण गरेको छ । विभिन्न पदहरुका लागि आठौं महाधिवेशनभन्दा दोब्बर बढी शुल्क तोकिएको छ ।

निर्वाचन समितिले अध्यक्षका लागि १० लाख रुपैँया  वा १० हजार अमेरिकी डलर शुल्क तोकेको छ । यस्तै उपाध्यक्ष तथा महासचिवका लागि ६ लाख रुपैँया  वा ६ हजार अमेरिकी डलर, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख रुपैँया वा ५ हजार अमेरिकी डलर र सहकोषाध्यक्षमा उम्मदेवारी दर्ता गर्न ४ लाख रुपैँया  वा ४ हजार अमेरिकी डलर शुल्क तोकिएको छ । यस्तै महिला तथा युवा संयोजक र क्षेत्रीय संयोजकमा उम्मदेवारी दिन ३ लाख ५० हजार रुपैँया वा ३५ सय अमेरिकी डलर शुल्क तोकिएको छ ।

निर्वाचन समितिले गरेको निर्णयअनुसार क्षेत्रीय उपसंयोजक र क्षेत्रीय महिला तथा युवा संयोजकका लागि २ लाख ५० हजार रुपैँया  वा २५ सय अमेरिकी डलर शुल्क तोकिएको छ । यस्तै आइसीसी सदस्यमा उम्मदेवार बन्नका लागि १ लाख रुपैँया  वा १ हजार अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ ।
शुल्ककै कारण राम्रो काम गर्ने भएपनि एनआरएनमा उम्मेदवार नै बन्न नसक्ने देखिएको एनआरएन अभियन्ताहरुको  भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार