जापान प्रति नेपालीहरूका आआफ्नै बुझाइ छन् । भोगाइ छन् । कतै ज्ञान, सीप हासिल गरी मनग्य पैसा कमाउँदै सुरक्षित र आनन्दपूर्ण जीवनयापन गरेका उदाहरण छन् त कतै आफ्नो ज्यान धरापमै पारेर मनग्य पैसा त कमाउने तर त्यसको उचित व्यवस्थापन गर्न नसकी विरक्तिनेहरू पनि छन् । जो मान्छेहरू इमान्दार र मेहनति छन् तिनीहरूले आफ्नै गतिमा जीवनयापन गरिरहेका छन् । उनीहरूलाई न कुनै रवाफ देखाउनु छ न कतै गुनासो पोख्नु छ । यस्तो जापानमा मात्र होइन दुनियाको जुनै कुनामा गए पनि साँच्चै इमान्दार र मेहनति मान्छेहरू प्राय औसत जीवन नै बाँच्छन् । विशिष्ट क्षमताका मान्छेहरू अनावश्यक तडक भडक आवश्यक ठान्दैनन् । किनकि उनीहरू यति ढुक्क हुन्छन् कि आफुलाई कतै प्रमाणित गर्न नखोजेरै प्रमाणित हुन्छन् तर  अधिकांश मान्छेहरू व्यक्तिगत क्षमता र मेहनतमा विश्वास नै नगरी अनेक हतकन्डा अपनाएर हाइफाइ पूर्ण जीवनयापन गरेको प्रमाणित गर्न मै उद्धत देखिन्छन् । यहाँ मैले भन्न खोजेको कुरा छोटोमा के हो भने 

कतै आफै त कतै परिस्थितिले सिर्जना गरेका समस्या छन् । यस्तो दुनियामा जहाँ पनि हुन्छ । अनौठो मान्नु भन्दा आफु बसेको ठाउँ सेरोफेरोमा हुने गरेका सकारात्मक कुरालाई जतिसक्दो अवलम्बन गरौँ र नकारात्मक कुराहरूलाई छोड्ने प्रयत्न गरौँ । 

सके सीप सिकौँ,प्रविधि सिकौँ अरु यस्तै कामलाग्ने कुरा सिकौँ नसके कम्तिमा राम्रो  संस्कार सिकौँ र त्यो संस्कार दुनियाको जुन सुकै कुनामा गए पनि आफुसँगै लिएर हिडौँ ।

जापान अहिले चुनावी माहोलले तातेको छ । यसै सन्दर्भमा मैले यहाँ देखेभोगेका केही उदाहरणहरू पस्कने जमर्को गरेको छु र यसबाट पनि हामीले केही सिकौँ कि भन्न खोजेको छु । हामीले जापानबाट सिक्नै पर्ने धैरै कुरा मध्ये एउटा छुटाउनै नहुने कुरा चुनावको प्रचारप्रसार शैली हो । म नेपालमा बहुदल आउनु भन्दा थोरै बर्ष पहिला जन्मिएको मान्छे हुँ । २०४६ को जनान्दोलनका केही सन्दर्भहरू मेरो मानस्पटलमा छन् त्यस पछिका नेपालका राजनीतिक उतार चढावहरू नजिकै बाट नियालेको छु । चुनावका सन्दर्भमा किताबमा पढ्दा ‘गोप्य मतदान’ को बारेमा पढेको कुरा र मैले व्यवहारमा देखेको कुरामा कहिल्यै मेल खाएको देखिन । गोप्य मतदान भन्ने तर महिनौँ अगाडिबाट टाउकोमा पार्टिको झन्डाको बिर्पट्टा बाँधेर हिड्ने जनता अनि ठोस र दीर्घकालीन योजना भन्दा आधारहीन बकम्फुसे चुनावी नारा बजाउँदै हिड्ने नेता, त्यसैगरी प्रचार प्रसारका नाममा अनावश्यक चुनावी आमसभा, जथाभावि पर्चापम्फलेट बाँड्ने, टाल्ने त स्वाभाविक रुपमा हुन्थे । कतिपय ग्रामिण क्षेत्रमा रातमा गुन्डा लगाएर हत्या,बलात्कार र आगजनी सम्मका जघन्य अपराधका घटना घटाएर सूर्योदय हुनु अगावै नेताहरूले राहत सामग्री बोकेर जाने सम्मका हर्कद गरेको सुनिन्थ्यो । यसमा मैले धेरै बोल्नु पर्ने कुरै छैन । पटकपटक विभिन्न आरोपमा मुछिएका व्यक्तिहरूले चुनावमा उठेर जितेका अनि कहिले जेलमा त कहिले संसदमा लुकामारी खेल्ने अनि जनताहरू महान्यायधिश बनेर जुहारी खेलेको पनि देखिन्छ । कहिले विदेशी नागरिक रातारात नेपाली नागरिकता ग्रहण गरी साडी र साइकल बाँडेर संसदीय चुनाव जित्ने अनि काठमाडौका सडकमै गोली खाएर ढलेका उदाहरण पनि छन् । यसरी न त राज्यले गलत व्यक्तिलाई नेता हुन नदिन सकेको देखिन्छ न त संरक्षण नै । यस्ता थनथन जति गरे पनि सकिँदैनन्, त्यसैले अब यो सन्दर्भलाई रोकेर एक छिन जापानको सन्दर्भलाई जोड्न चाहन्छु ।

*विगत केही समय देखि मैले जापानको चुनावी माहोल पनि हेर्ने अवसर प्राप्त गरेको छु । यहाँ त्यस्ता हर्कद कही कतै देखिँदैनन् । यहाँका जनता यति व्यस्त छन् कि उनीहरूलाई उस्तै परे पालो कुर्नै नपर्ने मतदान केन्द्रमा जाने फुर्सद सम्म छैन । यहाँ कुनै व्यक्तिलाई ‘तपाइँ कुन पार्टि वा नेतालाई मतदान गर्दै हुनुहुन्छ ?’ भनेर सोध्नु समेत नराम्रो मानिन्छ । विगतमा मैले पढ्दै आएको तर व्यवहारमा कहिल्यै अनुभव गर्न नपाएको गोप्य मतदानको वास्तविक अर्थ अहिले बुझ्दैछु । मैले आफुसँगै काम गर्ने कैयौ जापानिज साथीहरूलाई जिस्काउने गर्छु । आज त चुनाव हो मतदान गर्न जान पर्दैन ? उनीहरू हामीलाई कामबाट फुर्सदै मिल्दैन भन्ने जबाफ दिन्छन् अनि म आफ्नै सन्दर्भलाई सम्झिएर तीनछक पर्छु । जापानमा प्रचार प्रसारको निश्चित समयसीमा भित्र एक वा दुइ सामान्य गाडिमा ५/७ जना भोलेन्टियर सहित नेताहरू बाहिर निस्कन्छन् । आम जनतालाई गाडिभित्रै बाट हँसिलो मुहारमा निहुरिएर अभिवादन गर्छन् । हात हल्लाउँछन् अनि आफ्नो संक्षिप्त परिचय र मुख्य एजेन्डा सुनाउँदै मतदान गर्न आग्रह गर्छन् । प्रायजसो धेरै मान्छेको ओहोरदोहोर हुने ठाउँ, स्टेसनको नजिक कुनै छेउँतिर आफु चढ्ने सानो गाडि रोक्छन् र छतमा उभिएर हाते माइकमा भाषण गर्न थाल्छन् । करिब ५/७ जना भोलेन्टियरहरू मीठो मुस्कान सहित अभिवादन गर्दै लाइन लागेर उभिन्छन् । यो भन्दा रोचक दृश्य त उनीहरूको भाषण सुन्ने जनता भनेका खासै हुँदैनन् । ओहोरदोहोरको क्रममा हिड्दै गर्दा जे जति सुनियो त्यति मात्र हो । रुचि र फुर्सदिला मान्छे केहीबेर उभिनु स्वाभाविक नै हो । निर्वाचन बोर्डले गाउँ सहरका विभिन्न ठाउँमा होडिंगबोर्डको व्यवस्था गरेको हुन्छ । त्यस बेर्डमा सम्पूर्ण पदको लागि क्रमांकन गरी एकै साइजको स्पेस उपलब्ध गराउँछ । अनि केही आवश्यक नियमहरू राखिदिएको हुन्छ । त्यही तोकिएको स्पेसमा उम्मेद्वारहरूले नाम,फोटा, एजेन्डा आदि टाँसेका हुन्छन् । चुनाव पश्चात ती सबै सफा गरेको देखिन्छ ।

*यसरी प्रत्यक्षपरोक्ष रुपमा, यो या त्यो नाममा चन्दा आतंक मच्चाएर भए पनि चुनाव जित्ने र आफ्नो कार्यकालमा त्यसैको परिपूर्ती गर्ने अनि अर्को चुनाव जित्नलाई धन र शक्ति जुटाउने तत्तु गर्दा सम्म देशले विकास र समस्याको निकास कदापि पाउन सक्दैन । यो समस्या निम्त्याउनमा जनताको पनि उतिकै हात छ । किनकि कुनै युगमा विछट्टै क्षमता बोकेर आउने नेता देखा पर्न पनि सक्छ तर आम रुपमा हुने नेता भनेको उनै जनताको बिचबाट, उस्तै सामाजिक परिवेश बाट उठ्ने भएकाले जनताको चिन्तनभन्दा नेताको चिन्तन धेरै माथि हुनु पर्छ भन्ने भ्रम पाल्नु मूर्खता सिवाय केही होइन । त्यसैले जापान जस्ता मुलुकका मेहनति जनता र यही पृष्ठभूमि बाटै उठेका दूरदर्शी नेताहरूका सरल र अति वैज्ञानिक चुनावी प्रचारप्रसार शैली,प्रक्रिया(स्मरण रहोस् यहाँको मतगणना प्रक्रिया सायदै विश्वमा उच्चकोटीको छ) मात्र सिक्न सके पनि हामीलाई फाइदै होला ।

( पंक्तिकारको निवास रहेको –एदोगावा सिटिको सेरोफेरोमा देखिएको चुनावी प्रचारप्रसारको शैलीलाई आधार बनाएर यो लेख तयार पारिएको छ । बुझ्न सजिलोको लागि  लेखमा वर्णित  दुइ तस्वीर पनि यहाँ राखिएको छ ।स्रोत: माचुसिमा फुरेआइ हिरोबा(松島ふれあいひろば)को छेउमा राखिएको (ポスター掲示場)बाट खिचिएको)

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार