काठमाडौं । नेपाल संवतको नयाँ वर्ष । नेवार समुदायले विभिन्न तरिकाले नेपाल सवंत्लाई स्वागत गरेका छन् ।

वर्ष आरम्भका दिन   भिन्तुना र्‍याली, झाँकी, सांस्कृतिक कार्यक्रम, नाचगान भएको त सबैलाई थाहा छ । तर, ठमेलका युवाहरुले भने यस दिनलाई लक्षित गरेर वर्षेनी आकर्षक मण्डला बनाउने गरेका छन् ।

ठमेल किसान क्लब र थँबही ल्याय्म्ह पुचः मचा कवःले ठमेल चोकमा यसवर्ष ७ किसिमका खाद्यवालीलाई विशेष किसिमले सजाएर आकर्षक मण्डला खुला प्रदर्शनीमा राखेका थिए ।

धान, राज्मा, सोयाबीन, मुङ, मुसुरो, मास, लाभाले संयोजनमा सुन्दर कलाकृति तयार पारिएको छ ।

माइतिघर मण्डलाकै झल्को दिने उक्त मण्डलामा आन्तरिक र वाहृय पर्यटकको पनि आकर्षण छ । कसैले सेल्फी र कसैले भिडियो खिच्दै आफ्नो डिभाइसमा मण्डला कैद गर्दै थिए ।

 

मण्डला भत्किन नदिन चारैतिरबाट अस्थायी कम्पाउण्ड बनाएर घेरिएको छ ।

खाद्यबालीको सुरक्षा र उत्पादनमा जोड दिन सांकेतिक दवाब स्वरुप यस्तो मण्डला बनाइएको ठमेल किसान क्लबका अध्यक्ष युगेश महर्जनले  बताए ।

उनका अनुसार आर्टिफिसियल रङको प्रयोग नगरी पनि आकर्षक मण्डला तयार पार्न सकिन्छ भन्ने देखाउन पनि यसपाली खाद्यवालीको प्रयोग गरिएको हो ।
गत वर्ष ठमेलचोकमा नै विभिन्न रङ प्रयोग गरेर माता लक्ष्मीको आकृति बनाइएको थियो ।

‘हामीले क्लब स्थापनाको वर्ष (२०६६) देखि नै यस्तो मण्डला बनाउँदै आएका हौं’, उनले भने । स्थापना वर्षमा उनीहरुले क्लवको लोगोको आकृति झल्काउने गरी मण्डला बनाएका थिए ।

मंगलबार १४ घण्टा लगाएर बनाइएको उक्त मण्डला भाइटीकापछि अर्थात आइतबार विसर्जन गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार