दुनियाँमा खानेकुराको अभावमा धेरै मानिसहरु भोकमरीमा परिरहेका छन् । खाद्यान्न उत्पादनमा आइरहेको कमी तथा जनसंख्यामा भैरहेको बढोत्तरीका कारण यो समस्या झनै चर्किँदो छ । राष्ट्रसंघको एक तथ्यांक अनुसार सन् २०५० सम्ममा विश्वको जनसंख्या ९ अर्ब ७० करोड पुग्नेछ । यतिधेरै मानिसका लागि खानेकुरा कहाँबाट पुर्याउने ?

यो प्रश्नको उत्तर ब्राजिलका वैज्ञानिकहरुले खोजेका छन् । भविष्यमा खाद्यान्न अभावका साथै जिव प्रोटिनको भरपूर उपयोग गरी पौष्टिक खानेकुरा उत्पादनको दिशामा उनीहरुको कदम निकै क्रान्तिकारी सावित हुने पक्का छ ।हो, ब्राजिली शोधकर्ताहरुले साङ्लाबाट तयार पारिएको पाउरोटी उत्पादन गरेका छन् ।

उत्तरी अफ्रिकामा पाइने लोकस्ट कक्रोच भनिने विशेष प्रजातिको साङ्लाबाट वैज्ञानिकहरुले उच्च प्रोटिनयुक्त ब्रेड तयार गरेका हुन् ।

यो साङ्लाको वृद्धि छिटो हुनुका साथै प्रजननदर पनि उच्च हुन्छ ।

यो साङ्ला प्रोटिनका लागि रेड मिटभन्दा पनि राम्रो श्रोत रहेको बताइउको छ । रेड मिटमा ५० प्रतिशत प्रोटिनको हिस्सा हुनेमा यो साङ्लामा ७० प्रतिशत हिस्सा प्रोटिन हुन्छ ।

दक्षिणी ब्राजिलको फेडेरल युनिभर्सिटी अफ रियो ग्रान्डमा फूड इन्जिनियर रहेकी आन्द्रिसा जेन्टजेन भन्छिन्, ‘वातावरणसँग तालमेल मिलाउन तथा लाखौँ वर्षसम्म क्रमविकास गरी अस्तित्वमा रहनका लागि साङ्लाले केही न केही गुण अवश्य विकास गरेको हुनुपर्दछ ।’

प्रोटिनले भरिपूर्ण ब्रेड

फूड इन्जिनियर लरेन मेनेगनसँग मिलेर जेन्टजेनले साङ्लाहरु संकलन गरी सुख्खा बनाएर त्यसलाई पिँधेर पिठो तयार गरे । उक्त साङ्लाको पिठोको मूल्य प्रतिकिलो ५१ अमेरिकी डलर थियो ।

ब्रेड तयार पार्नका लागि गहुँको साधारण पिठोमा उक्त साङ्लाको पिठो १० प्रतिशत मिसाइयो । थोरै मात्रामा साङ्लाको पिठो मिलाउँदा गहुँको ब्रेडमा प्रोटिनको मात्रा १ सय ३३ प्रतिशतले बढेको पाइयो ।

घरमा तयार पारिने साधारण ब्रेडले ९.७ ग्राम प्रोटिन दिन्छ भने त्यसको तुलनामा साङ्लाको ब्रेडले २२.६ ग्राम प्रोटिन ।

साथै ब्रेडमा फ्याटको मात्रालाई ६८ प्रतिशतले घटाउन पनि शोधकर्ताहरु सफल भए । स्वादको हकमा  साधारण पिठोको ब्रेडको स्वादभन्दा फरक केही थिएन ।

पोषण विज्ञ प्राध्यापक इनो भियराका अनुसार साङ्ला मात्र होइन पुतली, कमिला, रेशम किरा, अरिङ्गाल, बारुला तथा विच्छीबाट पनि मानिसको खानेकुरा तयार पार्न सकिन्छ ।

उनका अनुसार यस्ता किट पतंगलाई हाम्रो खानामा समावेश गर्न सकिएमा जनसंख्या वृद्धिसँगै परम्परागत खाद्यश्रोतमा परेको चाप पनि कम हुनेछ ।

उनका अनुसार एक किलो मासु उत्पादनका लागि २ सय ५० वर्गमिटर जमिनको आवश्यकता पर्दछ । जबकि यहीँ मात्रामा किराहरु उत्पादनका लागि जम्मा ३० वर्गमिटर जमीन पर्याप्त हुन्छ । यतिमात्र होइन, पर्यावरण सुरक्षाका लागि पनि यो सहयोगी हुनछ । एक किलो मासु उत्पादनका लागि २० हजार लिटर पानीको उपयोग हुन्छ भने त्यति नै परिमाणमा किरा उत्पादनका लागि जम्मा एक हजार लिटर पानी भए पुग्छ ।

विस्तारै मन पराइँदैछ किराको भोजन


मानिसहरुमा आफ्नो खानेकुरामा किराहरु समावेश गर्ने क्रम बढेको छ । राष्ट्रसंघको एक रिपोर्ट अनुसार विश्वमा दुई अर्ब मानिसहरुले आफ्नो खानामा किराहरु समावेश गर्दछन् ।

लरेन मेनेगन र जेन्टजेन साङ्लाबाट बनेको केकसँगै किराबाटै बनेको हेल्थबार र तेल पनि उत्पादन गर्ने काम गरिरहेका छन् ।

यद्यपि, साङ्लाको ब्रेड अझैसम्म ब्राजिलका पसलहरुमा पुग्न पाएको छैन । खाद्य सुरक्षा अधिकारीहरुले ब्राजिलमा किराका परिकारहरु खाने इजाजत प्रदान गर्दैनन् । मानिसले नखाएपनि विभिन्न घरपालुवा जनावरहरुलाई चाहीँ यस्तो ब्रेड अवश्य खुवाउन सकिन्छ ।

उता बेलायत तथा स्पेन जस्ता देशहरुले चाहीँ किराबाट तयार गरिएका खाद्यपदार्थलाई बढावा दिइरहेका छन् । स्पेनको करेफोर सुपरमार्केट झिँगेमाछा, लार्भा तथा अन्य किराहरुबाट तयार पारिएका खानेकुरा पाइने ठाउँको रुपमा चर्चित छ । बेलायतमा पनि तारिएका फट्याङ्ग्रा तथा किराहरु बिक्री गरिन्छ ।

अमेरिकी शोध कम्पनी ग्लोबल मार्केट इनसाइटका अनुसार आउँदो पाँच वर्षमा किराहरुबाट तयार पारिएका खानेकुराको बजार ७० करोड अमेरिक डिलरसम्म पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार