सर्वभौम सत्ता सम्पन्न मुलुकका सर्वेसर्वा भनौ वा शर्वशक्तिमान जनता हुन्छन् ।देश, जनता र समाजको सेवा गर्छु भनी कुनै राजनीति दल वा स्वतन्त्र रुपमा उम्मेदवार भएर आएका ब्यक्ति नै जनताको अमुल्य मतको आधारमा जनप्रतिनिधिको रूपमा छनौट हुन्छन् र जिम्मेवारी पाउछन् ।त्यसैले त जनता जनार्दन भनिन्छ। अनि राज्य संचालनको विधि, बिधान, नीति नियम संरचना आदि राजनीतिले तय गदर्छ।भनिन्छ; सबैनीति भन्दा परिस्कृत र सर्वोत्कृष्ट नीति भनेको नै राजनीति हो । कुटनीति, चाणक्यनीति, महाभारतको शकुनीको जाली पाशा नीतिको जे जस्ता नीतिहरू, दर्शनहरू अध्ययन गरेपनि राजनीतिमा निष्ठा, त्याग र समर्पण भई जनसेवामा तल्लीन हुनु नै राजनीति हो । राज्य चलाउने नीति नै राजनीति हो । राज्यको नीति र यसमा रहेको तत्विक परिभाषा नबुझ्दा वा सहि ब्यबहारिक रुपमा लाग्नु नहुदा नेपालको राजनीति फोहरी राजनीतिमा परिणत भएको हो । अर्को शब्दमा प्रचलनमा “राजनीति फोहोरी खेल” पनि भनिन्छ । यसै फोहोरी खेललाई सफा गर्नु पर्दछ। जस्लाइ सफा गर्न त्यस्तै सफा, स्वच्छ मन भएका सामाजिक परोपकारी ब्यक्तिहरुको आवश्यकता पर्दछ । त्यही फोहोर तलाउमा कमल फुल्दछ । फोहरमा फुल्ने कमलले ताल र वरिपरिको दुर्गन्धलाई सुगन्धित बनाउछ अनि मगमगाहत बास्ना छर्छ। राजनीति पनि त्यस्तै हुनु पर्दछ । राज्यको मुल नीति नै राजनिती हो। राजनीति एउटा समाज र राष्ट्रको सेवा र निष्ठा पनि हो । राजनीति त्याग र बलिदानको अर्को स्वरुप पनि हो । राजनीति राष्ट्र र जनहितमा निरन्तरित रूपमा लागी राख्ने समर्पण पनि हो । राजनीति निशर्त देशका लागी र राजनीति जनताका लागी हुनपर्दछ । राज्यको राजनीति अस्थिरताका कारण उदण्डताका कारण छाडा प्रवृत्तिका कारण, दण्डहिनताका कारण, पद्वति छ,प्रबृत्ति छैन ।नीति नियम छ तर पालना छैन। सानोलाइ ऐन ठुलालाइ चैन छ। बहु आयामिक विकास र सम्मृद्विको मार्ग चित्रण गर्न नसक्नाका कारण नेपाल र नेपाली समृद्ध हुन सकेका छैनन। नेपाली राजनीतिका खेलाडीहरूले दर्जनौ किताब पढ्नु, बिश्वको राजनीति नियाल्नु भन्दा यति कुरा राम्रो संग बुझेर मनन गर्दा हुन्छ जस्तो लाग्छ।
बिडम्बनाको कुरा एउटा अबोध दुधे बालकले पनि साधारण र स्पष्ट रूपमा बुझ्न सकिने सेरोफेरोमा हाम्रो देशको राजनीति बर्षाै देखि रुमलिदै आएको छ।तर आशा भने जनताले अझै मारेका छैन। पद, सत्ता र पावरको खेल कहिल्यै टुंगिदैन।
हरेक सामाजिक मानबिय संबेदनशिल बिषयहरुमा पनि राजनीति मिसाइनु, राजनीति स्वार्थले जोडीनु र राजनीतिक अभिष्ट पूरा गर्नको लागि हरेक ताण्डब गर्न पछि नपर्नु दु:खद कुरा हो। अहिले सम्म राम्रो दुर्दर्शीता भएको त्यागी नेता नपाउनु अर्को दुर्भाग्यको कुरा हो।
समय समयमा देशमा राजनीतिक उथलपुथल भए।देशमा अनेकौं ब्यबस्थाहरु पनि फेरिए तर जनताको अबस्था भने कहिले फेरिएन।
अपबादको रूपमा उदाहरनिय काम गरिसकेका केही इमान्दार अशल नेता कार्यकर्ता भए पनि धेरै गलत आचरण भएका खराब ब्यक्तीको हाबिले गर्दा नै आज राजनीति लाजनितीमा परिणत भएको महसुस हुन्छ। तर यसो भन्दैमा सधै नेताहरुलाइ गाली गर्दैमा अरुप्रती नकारात्मक मात्र बन्दैमा मुलुक बन्दैन न त समस्याको समाधान नै हुन्छ।
हामी हरेक नागरिक पनि सचेत र सकारात्मक भएर राष्ट्र प्रतिको उतरदायित्व सबैले बहन गर्न आवश्यक छ। अधिकार मात्र नखोजी राज्यको नीति नियम र कानुनलाई सबैले आत्मासात र अंगिकार गर्नु पनि अर्को महत्त्वपूर्ण पक्ष हो। अरुको मात्र मुख नताकी हरेक नागरिक सबल र समृद्ध बन्न र बनाउन थाल्यौ भने अवश्य देशले पनि काँचुलि फेर्नेछ। तर खराब प्रबित्ती, कुरिती, कु-संसार , बिभेद, अन्याय अत्याचार आदि बारे भने खुलेर बिरोध गर्न र निरुत्साहित पार्न पछि हट्नु हुदैन।गुण र दोष को आधारमा सहिलाइ सहि र गलतलाई गलतलाइ गलत भन्ने बानिको बिकास हरेकको मनस्थितिमा जाग्नु जरुरी छ।
यसले सम्बन्धित निकाय र सरोकारवालाहरुमा पनि सहि भुमिका निभाउन दबाब पर्नेछ।राजनीति सबैले बुझ्न जरुरी छ तर सबैले अनिवार्य गर्नु नै पर्छ भन्ने जस्तो लाग्दैन। जो इमान्दार भएर निस्वार्थ रूपमा देश र जनताको हित र सेवामा आफ्नो जीवन योगदान गर्न तत्पर रहन्छ त्यस्ता सक्षम दुरदर्शि ब्यक्तिहरुले मात्र नेतृत्व गर्न वा राजनीति गर्न अघि सर्दा राम्रो हुन्छ।स्वतन्त्र सचेत जनताले पार्टी र चुनाव चिन्ह हेरेर हैन, योग्य र सहि प्रतिनिधि छानी छानी चुनेर जिम्मेवारी दिने हो भने खराबहरु र अयोग्यहरु निरुत्साहित भइ सकारात्मक परिपाटी र सुशाशनको बलियो जग निर्माण हुन्छ। ठुला ठुला गफ र भाषण हैन , साना साना काम गरेर दिनको सुरुवात गर्ने बानी बसाल्नु पर्छ।मिहेनत र अथक प्रयास गर्दै कर्ममा बिश्वास राख्ने हो भने असम्भब केही छैन।
अनि हरेक नेपालीको एकता , हातेमालो र सहकार्यमा पुरा हुन्छ समृद्ध नेपालका सपनाहरु….अनि छाउनेछ सबैमा खुशी र सुखका दिनहरु……
हामि पहिला आफ्नो सोच बदलौ अनि घर, परिवार , समाज र राष्ट्र बदलिनेछ।
र अन्त्यमा, हामी नेपाली जहाँ जुन सुकै ठाँउमा रहे पनि एक आपसमा सुमधुर सम्बन्ध, एकता, आत्मियता, भाइचारा, सद्भाव , सहिष्णुता र सहकार्य सदैब कायम रहोस् भन्ने कामना गर्दछु।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार