नेपालीमा एउटा प्रचलित उखान छ- ‘धेरै बिरालाले मुसा मार्दैन’ जापानको नेपाली समुदाय र यहाँ खोलिएको/ संगठित भएका सामाजिक संस्थाहरुको संख्या र प्रभावकारिता नियाल्न खोज्दा म यो उखान बारम्बार सम्झिन्छु । जसरी धेरै बिरालो भएको घरमा एक/अर्काले मारिहाल्छ भन्दा भन्दै मुसा उम्किन्छ त्यस्तै जापानका नेपाली समुदायका संघ संस्थाहरुले गर्नुपर्ने गतिविधिको प्रभावकारिता पनि एकले अर्काको मुख ताक्ने प्रवृतिका कारण असरल्ल परिरहेको छ ।यो,पंत्तिकारले यहाँ विताएको ४ वर्षमा देखेको र भोगेको सत्य हो ।

जापानमा अध्यायन, तथा विविध पेशा, व्यवसायको वहनामा नेपाल बाहेक अन्य थुप्रै मुलुकका नागरिकहरु वसोवास गर्दछन् । संख्यात्मकरुपमा नेपाली भन्दा कयौँ गुणा धेरै रहेर पनि अन्य मुलुकका नागरिकहरु यहाँ नेपाली हरुझैँ संगठित भएको ख़ासै भेटिदैनन् । उनिहरु जे उदेश्यले आएका हुन् त्यहि गर्दछन् । तर अरु भन्दा हामी पृथक छौँ र आफ्नो मुख्य उद्देश्यसंगै सम्भावित अवसरहरु सिर्जना गरिेहाल्छौँ । प्रवासमा खुलेका राजनीतिक भातृसंगठन होस् या अन्य क्षेत्र विशेषका संघसंस्थाहरु हुन् यि सबै पढ्दा-पढ्दै, अनि पेशा व्यवसाय गर्दा गर्दै थप सम्भावना र पहिचान प्राप्तिका लागि गरिएका अतिरिक्त कृयाकल्पहरु हुन् , जहाँ सेवाका बहानामा स्वार्थको खेल खेलिन्छ । पछिल्ला आँकडालाई आधार मान्ने हो भने, जापानमा करिब ७० हजारभन्दा बढ़ी नेपालीहरु विभिन्न पेशा, व्यवसाय तथा अधयायन गरी बसोबास गर्दछन् र उनिहरु विभिन्न बहानामा एकसयभन्दा बढी स–साना तथा ठूला संस्थाहरु निर्माण गरेर विभाजित भएका छन् । सरलरुपमा भन्दा, जापानमा नेपालीहरु -क्षेत्र , राजनीतिक आस्था अनि जाति , वर्ग र समुदाय विशेषको नाममा छिन्न भिन्न भएका छन् । पहिले जो भेटेपनि नेपाली भेटेकोमा गर्व गर्ने समाज अहिले फलानो र ढिस्कानो संस्था र समुदायको नाममा वर्गीकृत परिचयमा अडिएको छ।

प्रदेशमा यसरी संगठित हुनु पक्कै नराम्रो होइन। तर, प्रवासमा रहेर आफ्नो उद्देश्य र लगनशीलतालाई निरन्तरता दिनुपर्दछ भन्ने तर्क हो । त्यसका साथसाथै राष्ट्रप्रतिको प्रेम र जिम्मेवारी पनि मनन गर्न सक्नुपर्दछ। हाम्रो गाउँघरका टोलैपिच्छे गठन गरिएका आमा समूहजस्ता स–साना संस्था बनाएर प्रवासमा रहेका हामी नेपालीहरु विभाजित हुनुको सट्टा एउटै संगठनमा आबद्ध हुनु जरुरी छ। यसले हामीबीच बन्धुत्व, भाईचारा र आपसी सम्बन्ध पनि प्रगाढ बनाउन मद्दत गर्नेछ। यसका लागि सबैले राजनीतिक स्वार्थभन्दा माथि उठ्न जरुरी छ। त्यस्तो संगठनले जापानी समुदायका बीच नेपालको कला, सौन्दर्य, संस्कृति र पर्यटकीय सम्भावनाका बारेमा जानकारी गराउन सके हाम्रो राष्ट्रको हितमा ठूलो योगदान पुग्नेछ। तर बिडम्बना हामी आडम्बरी पद र खोक्रो पहिचानमा रुमल्लिरहेका छौँ । यि पृष्ठभूमिहरुको चर्चा गर्दा टड्कारो देखिने केहि विकृति र विसंगतिहरुलाई यसरी बुझौँ ।

क्षमता बिनाको पदलोलुप्ता
संघ संस्थाहरु बढेसंगै जो पनि पदाधिकारी बन्ने गरेका छन् । यति सम्म कि जस्लाई सामाजिक संस्था, प्राईभेट फर्म, र राजनितिक संगठन बिचका न्युनतम् भिन्नता र विशेषताहरुका बारेमा जानकारी नै छैन उनिहरुनै संस्थाका मुख्य पदहरुमा विराजमान छन् । अरु त परको कुरा आफ्नै संस्थाको विधानमा लेखिएका संस्थागत निति ,नियम र उद्देश्यबारे अनभिज्ञहरुको जमातले संस्थाको नेतृत्व गरिरहेका छन् । त्यसो त शतप्रतिशत यहि श्रेणीका छन् भन्ने आशय होईन तर कृयाशिल ८५ प्रतिशत संघसंस्थाका पदाधिकारीहरु यो श्रेणीमा छन् । मैले हालसम्म उनिहरुसंग समाचार संकलनका क्रममा गरेको उठबसका आधारमा उनिहरुको क्षमता मुल्यांकन गर्ने अवसर पाएको छु र आज निर्धक्क संग लेखिरहेको छु कि,अधिकाँस संघसंस्थाहरुमा सक्षम नेतृत्व छैन । जस्को परिणामस्वरूप संघसंस्थाहरु वर्षातमा च्याउ उम्रिए जस्तै उम्रिए पनि उपलब्धि भने शुन्य छ । संस्था सञ्चालन,अर्थ व्यवस्थापन,जनशक्ति संयोजन,कार्यक्रम निर्धारण र कार्यन्वयन,बाह्य व्यक्ति तथा संघ संस्था हरुसंगको समन्वय जस्ता कुराहरुको आधरभुत ज्ञान पनि नभईकन पद कै लागि पद दावी गर्नेहरुको जमात छ भन्दा फ़रक पर्दैन । यहाँ कृयाशिल एकदमै राम्रो र पुराना अनि विश्वभर सञ्जाल भएका भनिने संस्थाका महासचिव पदमा आशिन महोदयहरु पनि सहि तरिकाले माईन्युटिङ् लेख्ने र पत्राचार अनि प्रेस विज्ञप्ति जारी गर्ने हैसियत राख्दैनन् ।

व्यक्तिगत निहित स्वार्थमा संस्थाको उपयोग
संस्थाको नेतृत्व किन गर्ने ? वा किन दिने ? सामन्य जवाफमा भन्ने हो भने – सम्बन्धित समाज, समुदाय ,वर्ग या क्षेत्रको समस्याहरुको न्युनिकरण र सम्भावनाहरुको पहिचानमा योगदान दिन । तर यहाँ ठिक विपरीत भईरहेको छ । दिन होईन लिनका लागि लाम लाग्नेहरुको जमात छ । यहाँ आफ्नो व्यक्तित्व विकास र व्यापार प्रवर्द्दनका लागि सामाजिक संस्थाहरुको नेतृत्वमा पुग्न चाहनेहरुको बाहुल्यता छ । र अहिले सम्म केहि संस्था र व्यक्तिहरु बाहेक सबैमा यहि प्रवृति हावी देखिन्छ ।

नाम मात्रका सामाजिक सँस्थाहरु
संख्यात्मक रुपमा सयभन्दा बढी संघ- संस्थाहरु भए पनि उनिहरुको उपस्थिति केवल औपचारिकता मात्रै देखिन्छ । सामाजिक हित तथा मानव परोपकार, नेपालको विकास तथा आपसी भेटघाट तथा भलाकुसारी गर्ने कामहरु न्युन मात्र हुनेगर्दछ । धेरै जसो भने, विभिन्न जिल्लाका नामका समाजहरुले बेलाबेलामा नेपाली कलाकारहरु, नेपाली चलचित्र, नेतागण, विभिन्न विषयका जानकारहरुलाई जापान ल्याएर नेपाली समुदायका बीच प्रिय बन्ने प्रयत्न मै सिमित छ । अधिकाँस संस्थामा सरोकारवालाहरुको अपनत्व देखिदैन । भन्नलाई सामाजिक संस्था भनिए पनि संस्था केवल कार्यसमितिको सम्पत्ति सरह देखिन्छ ।किनकि न त्यो संस्थामा सबैले आफ्नोपन महशुस नै गर्दछन् न त्यसबाट प्राप्त हुने सेवा सुविधाहरुबाट लाभान्वित नै हुनसक्छन् । केहि नगन्य संस्थाहरु छाडेर, अरु त अरु संस्थाको वैधानिकता के भन्ने नै आधार भेटिँईदैन ।

कारण को हो त ?
समस्याहरु उल्लेख गरिरहँदा कारणबारे चर्चा गरिएन भने त्यो फगत कुण्ठा प्रस्फुटन मात्र हुन सक्छ । त्यसो त यहाँ मैले उल्लेख गरिरहेका विषयको कारण र कारक हामी सबैलाई थाह छ नै । तै पनि प्रष्ट भन्नुपर्दा हामी सबै कारक हौँ भने हाम्रा उच्च महत्वकाँक्षाहरु कारण हुन् । समाज शास्त्रिय तर्क मान्ने हो भने शक्ति पुजनको हाम्रो सामाजिक मान्यता नै मूल कारण हो । किनकि हाम्रो समाज र परिवेशले केवल शक्ति र सत्तालाई नै सर्वस्व मान्दछ र , त्यसमा पैसा र पद मुख्य हुनआउँछ । यसरी हेर्दा हाम्रो समाज यतिखेर केवल पैसा र पद (सत्ता) का लागि दौडिरहेछ र यि प्रवृत्तिका कारण सामाजिक संस्थाका नाममा विकृतीहरु बढिरहरेका छन् । केहि सिमित व्यक्तिका खातिर बहुल संख्या पंगु भईरेका छौँ ।संस्थाको नेतृत्व गर्नुभनेको त्यो वर्ग/ समुदाय /मुलुकका लागि केहि योगदान गर्न जाने हो । जसकालागि आफुसंग भएको ज्ञान/ सिप/ क्षमता उपयोग गरि केहि सकारात्मक परिवर्तन गर्छु भन्ने दृढता आवश्यक पर्दछ । तर हामी त्यहाँ यि सब कुरा कमाउनका लागि जान चाहन्छौँ । यहि यसको कारण हो ।

के गर्ने त ?
१.संजाल र जनशक्ति सहित ऐनकानुन् सम्मत चलेका भनिने संस्थाहरुले सबै नेपालीलाई अपनत्व महशुस गराउनु पर्दछ ।
२.संघ सस्थाहरुले केवल नाम साँगितिक र संस्कृतिको नाममा अर्धनग्न नृत्य देखाउनुभन्दा, आफ्ना सदस्यहरुको क्षमता विकासमा टेवा पुग्ने, तालिम/छलफल र अन्तरकृयाहरु गराउनु पर्दछ ।
३.प्रवासमा रहेर प्रवासी नेपालीहरुको खातिर सेवा गर्ने उद्देश्य राखेका संस्थाहरुको वार्षिक उपलब्धि मूल्याँकन गर्ने र प्रभावकारी नभए ख़ारेज वा २,३ वटा संस्थाहरुको मर्ज गर्नुपर्दछ ।
४.यस्ता क्षेत्र/जातजाति/ वर्ग सम्प्रदामुखी नभई पेशा/ तथा व्यवसायिक संगठनलाई प्रवर्ध्दन गर्नुपर्दछ ।
५.अर्थोडक्स विचार छाडी, ज्ञान र क्षमता भएका व्यक्तिहरुलाई नेतृत्वको जिम्मेवारी दिनुपर्दछ ।
६.कुनै पनि संस्थाको नेतृत्व गर्ने सोच राख्नुपूर्व/ शिक्षा/सिप/ज्ञान/अर्थिक स्रोत तथा नेतृत्व क्षमताको विकास गर्नुपर्दछ । ताकि बाँच्नका लागि भ्रष्ट हुननपरोस् ।
७.नेतृत्व सम्हालिरहेकाहरुले आफ्ना उत्तराधिकारी तथा संस्थाका सम्पुर्ण सदस्यहरुलाई सक्रिय बनाउन सक्नुपर्दछ जसले संस्थालाई निर्धारित लक्ष प्राप्तिमा सहजता मिल्नेछ ।

अन्त्यमा,संघ-संगठन गठन हुनु या खुल्नु ग़लत होईन तर उदेश्यविहिनरुपमा केहि व्यक्तिहरुको स्वार्थमा खोलिने र प्रभाव विहीन / बदनामी हुने परिवेश चाहीँ ग़लत हो । त्यो प्रवृत्तिको आलोचना हुन जरुरी छ ।

(नेपालन्युजपोस्टडटकमका सम्पादक राजन गौतमद्वारा लिखित यस आलेख, नेपाल पत्रकार महासँघ जापानको स्मारिकामा पनि प्रकाशित भईसकेको छ )


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार