टोकियो । गैरआवासीय  नेपाली संघ जापानले नेपाली विद्यार्थी तथा डिपेन्डेन्ट भिसामा आउने र आएका दिदीबहिनी तथा दाजुभाईहरुलाई प्रत्यक्ष लाभ हुनेगरी एक एेतिहासिक कार्यको थालनी गरेको छ ।   

एनआरएनए जापानले टोकियोको सिन-ओकुबोस्थित आफ्नै कार्यलयमा सोमबार ,नेपालबाट अध्यायनका लागि आउने विद्यार्थीहरुलाई पार्ट टाईम जब (आरुबाईतो) खोज्नका लागि हुने कठिनाई तथा भाषाको कारण समस्या झेल्न वाध्य डिपेन्डेन्ट भिसा बाहक दिदीबहिनी तथा दाजुभाईहरुको समस्या न्युनिकरण गर्ने उद्देश्यले जापान सरकार संग समन्वय गरेर सेवामूलक क्षेत्रमा काम गरिरहेको संस्था -अन्तर्राष्ट्रीय  मानब संसाधन संजाल (International Human Resource Network Organisation -IHNO) सँग एक महत्वपूर्ण  लिखित सम्झौता गरेको  छ । IHNO को जापानभर २ सय भन्दा बढी कम्पनीहरु संचालनमा रहेको छ ।त्यि कम्पनीहरुको माध्यमबाट जापानभर यो सम्झौता अनुसार काम हुने जनाईएको छ ।

एनआरएनए  जापानका अध्यक्ष टासी वांग्दी लामा र IHNO का  अध्यक्ष कोमियामा योसिहारु बिच भएको उक्त सम्झौता अनुसार,जापानमा अध्यायनका लागि आउने नेपाली विद्यार्थीहरुले -काम खोज्ने क्रममा भोग्नुपर्ने शास्ति र २८ घण्टा भन्दा बढि काम गर्न नपाउने व्यवस्थाकारण झेलिरहेका समस्यालाई न्युनिकरण गर्न मद्दत  गर्ने एनआरएनए जापानको  दावी छ ।सम्झौतामा उल्लेख भए अनुसार IHNO ले नेपाली विद्यार्थीलाई निःशुल्करुपमा पार्टटाईम तथा फुलटाईम कामको व्यवस्था गरिदिनेछ । कम्पनीले काम मात्र नभई काम गर्ने विद्यार्थीहरुलाई झण्डै छ महिनाको स्कुल फि तिर्न पुग्ने गरी  विशेष छात्रवृत्तिको पनि व्यवस्था  गरिदिनेछ । सम्झौतमा उल्लेख भए अनुसार उक्त कम्पनी मार्फ़त – मासिक १ सय घण्टा काम गर्ने विद्यार्थीलाई महिनाको ३ मान जापानी येन, ८० देखि ९९ सय घण्टासम्म काम गर्नेलाई २ मान जापानी येन र ५० देखि ७९ घण्टा सम्म काम गर्नेलाई १ मान जापानी येन प्रदान गरिनेछ । र यो विशेष छात्रवृत्ति १ वर्ष सम्म  प्रदान गरिने  बताईएको छ । साथै एक वर्षभन्दा धेरै काम गर्नेहरुको हकमा यो छात्रवृत्तीको सुविधा स्वत नविरकण हुँदै जाने व्यवस्था रहेको छ । 

एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेतका अनुसार यस सम्झौताले केवल विद्यार्थीहरुको समस्याहरु मात्र नभई डिपेन्डेन्ट भिसामा आएका र भाषागत ज्ञान नभएका अन्य दिदी बहिनी तथा दाजुभाईहरुको समस्यालाई पनि सम्बोधन गर्नेछ ।  उनका अनुसार डिपेन्डेन्ट भिसामा जापान आएका दीदी बहिनी तथा दाजुभाई हरूलाई पनि काम को व्यवस्था र विद्यार्थीहरुलाई जस्तै गरि कामको अवधीमा मिलान गरि प्रत्येक महीना ३ मान जापानी येनसम्म  प्रदान गरिनेछ तर त्यसकालागि उनिहरुले अनिवार्यरुपमा  जापानिज भाषा पढ्न जानुपर्नेछ । जापानी भाषा कक्षा पनि निःशुल्करुपमा संचालन गरिने बताईएको छ । 

सम्झौता कार्यक्रममा  बोल्दै एनआरएनए जापानका अध्यक्ष टासी वांग्दी लामाले भने –  “एनआरएनए जापानले पहिलो पटक एक आशा लाग्दो एेतिहासिक प्रयास गरेको छ,यसले जापानमा आएका नेपाली विद्यार्थी तथा डिपेन्डेन्टहरुलाई महत्वपूर्ण सहयोग पुर्याउनेमा हामी विश्वस्त छौं ।” त्यस्तै IHNO का अध्यक्ष कोमियामा योसिहारु पनि यो सम्झौताप्रति निक्कै उत्साहित देखिन्थे । उनले यस कम्पनीको माध्यमबाट थुप्रै मुलुकका विद्यार्थीहरुले काम गरिरहेको भएता पनि यसरी संस्थागतरुपमा भने पहिलो पटक एनआरएनए जापानसंग सम्झौता भएको बताउँदै यो एक फरक र उपलब्धीमुलक हुने आशा व्यक्त गरे ।  

सम्झौता कार्यक्रममा,एनआरएनए जापानका उपाध्यक्ष शिव पौडेल,पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, एनआरएन जापानका कार्यसमिति सदस्य लालबहादुर रावल ,नेपालजापानडटकमका कृष्ण अधिकारी तथा नेपालन्युजपोस्टडटकमका  सम्पादक राजन गौतम् लगायतका व्यक्तिहरु पनि उपस्थित थिए । साथै  कार्यक्रममा टिका  छन्त्यालले  पनि सहयोग पुर्याएका थिए  । 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार