बर्नबेउ (एजेन्सी) – रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । कोपा डेल रे अन्तरगत बिहिबार राति भएको चौथो चरणको खेलमा मड्रिडले दोस्रो डिभिजनको मेलिल्लामाथि ६–१ को फराकिलो जित निकाल्दै पाँचौ चरणका प्रवेश गर्न सफल भएका हुन् ।

 

यससँगै रियलले समग्रमा १०–१ को जित दर्ता गर्यो । रियलले पहिलो लेगमा ४–० को जित निकालेको थियो ।

रियललाई फराकिलो जित दिलाउन मार्काे एसेन्सियो र इस्कोले समान २–२ गोल गर्दा जेभियर गोमेज र भेनेसियस जुनियरले समान १ गोल थपे । मेलिल्लाका यासिन क्वास्मीले सान्त्वना गोल फर्काए ।

घरेलु मैदानमा रियलले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । ३३औं मिनेटमा मार्काे एसेन्सियोको गोलबाट रियलले खेलमा अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि एसेन्सियोले नै गोल गर्दै अग्रता दोब्बर पारे । ३९औं मिनेटमा जेभियरले गोल गरेपछि रियलले पहिलो हाफमा ३–० को अग्रता लियो । ४८औं मिनेटमा इस्कोले गोल गरे ।

७५औं मिनेटमा भेनेसियस जुनियरले गोल गरेपछि रियलले खेलमा ५–० को अग्रता बनायो । ८०औं मिनेटमा यासिनले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए । ८३औं मिनेटमा इस्कोले व्यक्तिगत दोस्रो तथा टिमका लागि छैटौं गोल गर्दै रियललाई ६–१ को फराकिलो जित दिलाए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार