काठमाडौं, २७ जेठ । सन् २०१८ को लागि शनिबारबाट कोरियन भाषा परीक्षा सुरु भएको छ ।
परीक्षा आज र भोलि आइतबार काठमाडौंमा सञ्चालन हुँदैछ । परीक्षा सञ्चालनका लागि कोरियाबाट ५५ जनाको मानव संसाधन अधिकारीको टोली काठमाडौं आएको छ भने देशभारबाट ७५ हजार भन्दा बढी परीक्षार्थीले परीक्षामा सहभागिता जनाएका छन् ।
परीक्षा दुई दिनमा ४ सिफ्टमा परीक्षा गर्न लागिएको ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारीले अनलाइनखबरलाई बताए । यसका लागि काठमाडौंमा १७ र ललितपुरमा ९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा मोबाइल, ट्याब, स्मार्ट वाच लगायत इलेक्ट्रोनिक्स डिभाइस ल्याउन नपाइने ब्यवस्था गरिएको छ । ‘इलेक्ट्रोनिक्स कुनैपनि डिभाइस परीक्षार्थीले ल्याउन पाउँदैनन् । ल्याए भने रेस्टिकेट गरिन्छ’ भण्डारीले भने । परीक्षार्थीले अनलाइन भर्दा इमेलमा आएको प्रवेशपत्रको रंगीन प्रिन्ट पनि ल्याउनुपर्नेछ । सँगै एमआरपी पनि अनिवार्य गरिएको छ । यो वर्ष ७५ हजार ५ सय ८० जनाले परीक्षा दिँदैछन् । त्यसमध्ये १० हजार २ सय जना परीक्षामा उत्तीर्ण हुनेछन् । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुनेछन् । असार १६ गते परीक्षाको नतिजा सार्वजनिक हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार