जापानका विभिन्न सहरहरूमा व्यस्त जीवन विताइरहनु भएका नेपाली दाजुभाइ दिदीवहिनीहरू सँग आज एक फरक अनुभव साट्ने जमर्को गरेको छु । फुर्सदको समयलाई सदुपयोग गर्ने आआफ्नै तरिका हुन्छन् । साथीभाइ इस्टमित्रसँगको भेटघाट,कुनै नयाँ ठाउँको घुमफिर,खानपिन,नाचगान आदि । प्रत्येका व्यक्तिका फरक फरक स्वाभाव र विशेषता भए पनि प्राकृतिक,शीतल,स्वच्छ,शान्त हरियाली वातावरण मन नपराउने मान्छे त संसारमा कमै होलान । नेपालमा पनि केही वर्ष यता तीब्ररुपले बढ्दै गएको अव्यवस्थित सहरीकरणले केही अप्ठ्यारो स्थिति सृजना गरे पनि अधिकांश नेपालीहरूको पृष्ठभूमि प्राकृतिक वातावरणमा हुर्कदै अनि रहर वा बाध्यताले प्राकृतिक वस्तुहरूसँग नै खेल्दै यहाँ सम्म आएको हुनुपर्छ । मेरो बाल्यकाल पनि अर्घाखाँची जुकेनाको बंसारी र हेर्लुंग खोलामा कलकल बग्दै गरेको पानीले खलखल बगेका पसिना पखाल्दै, ऐँसेलु,मडेला र खल्टुक खाँदै,अलि ठुलो भए पछि कपिलवस्तु शिवपुरमा पर्ने जबइ खोलो अनि भालुखोलाको सिमसारमा माछा र गंगटा समात्दै ,थाकल र जामुनो खाँदै हुर्किएको थियो । समय क्रममा बुटबलमा पर्ने तिनाउ र सिद्धबाबाको सेरोफेरो,काठमाडौँमा बाग्मतिको दुर्दशा हेर्न नसकी चोभार डाँडा र मातातीर्थको सेरोफेरोमा बरालिएका क्षण अनि सिन्धुपाल्चोकको बतासे डाँडा,जलवीरे र बलेफीको सेरोफेरोका मेरा अनुभव अहिले टोकियोमा पर्ने एदोगावा सिटीको सिनसुइकोउएन (सीमसार बँगैचा) सँग साट्दै छु ।

जापानी भाषाप्रति चासो राख्ने वा जापानमा लामो समय विताउनु भएका महानुभावहरू पक्कै पनि सिनसुइकोउएन अर्थात अंग्रेजीमा वाटर पार्क भन्ने शब्दसँग परिचित हुनुहुन्छ होला । यदी शब्दसँग परिचित हुनुहुन्न भने बस्तिका बिचबिचबाट बग्ने स-साना खोला जस्ता,कतै कुलेसा जस्ता देखिने छेउँछाउँमा तुलफुल लगाएका शितल र शान्त बँगैचा त पक्कै देख्नु भए होला, हो त्यसलाई सिनसुइकोउएन भन्दछन् । जापानमा सन १९७० को दशकमा बढ्दै गरेको शहरीकरणका साथै प्राकृतिक वातावरण संरक्षणको चुनौति,बाढी नियन्त्रणका निम्ति निर्माण गरिने बाँध आदिका कारण जनताहरू प्राकृतिक वातावरण जस्तै नदीनाला,पानी,वनजंगल,सामुद्रिक किनार आदिको स्पर्शबाट बंचित हुने अवस्था देखा पर्न थाल्यो । त्यसै कारण जनचाहना अनुरूप नै बग्दै गरेका खोलानालाका ढुंगाहरू बँचाएर कृत्रिम भए पनि खोलाकै अनुभूति हुने गरी सिनसुइकोउएन निर्माणको अभियान सुरुवात भएको  पाइन्छ । मेरो फुर्सदको अधिकांश समय यस्तै सिनसुइकोउएनमा बित्ने गर्दछ । कहिले एक्लै त कहिले परिवारसँगै खेल्ने,भुल्ने,घुम्ने ठाउँ मध्येको मलाई सबै भन्दा मन पर्ने ठाउँ मेरो घर नजिकै रहेको कोमाचुगावासाकाइगावा सिनसुइकोउएन हो । मलाई यसको मुहान कहाँ र कस्तो होला भन्ने जिज्ञासाले सताएकोले वेवसाइट खोलेर हेरेँ । अनि एकदिन हिँड्दै मुहान सम्म पुगे । नक्सा हेर्दा झन्डै अंग्रेजीको अल्फावेट वाइ आकारको देखिने यसका दुइवटा मुहान रहेछन् । सिननाकागावा (नदीको नाम) बाट जेनेरेटर लगाई पानी तानेर एक पडाड आकारको थुम्को निर्माण गरी झरनाको सुन्दर दृश्यबाट यसको सुरुवात भएको छ । बगैँचाको दुबैतिर सफा चिटिक्क परेका पैदलपथ,किनारमा लगाइएका हरिया बोटविरुवा,रंगिचंगी फुल, ठाउँठाउँमा टाँगिएका साइनबोर्डमा साइकिल चलाउन मनाही छ‘ ,’ठूलो स्वरमा नचिच्याउनु होला छिमेकीलाई गाह्रो हुन्छ‘,’फोहोर नगर्नु होलाजस्ता भनाइ ठाउँ र सन्दर्भ अनुसार हुनसक्ने खतरा प्रति सजग हुन गरिएका आग्रहले सभ्यताको संखघोष गरेका छन् । बस्तीका बिचबिचमा फराकिला बालकेन्द्रित बँगैँचा,ट्वाइलेट बाथरूम, शितलपाटीको निर्माण बालबालिका हरूलाई खेल्दै रमाउँदै जिज्ञासु बनाउने किसिमका  वनस्पति,जनावर,चराचुरुंगीसँग सम्बन्धित परिचय,क्वीजहरू राखिएको देखिन्छ । बिचबिचमा राखिएका वाटर कन्ट्रोलरूम र फिल्टर हरूले सुरक्षित वातावरणको अनुभूति गराएका छन् ।  पानी र बँगैँचाको सेरोफेरोमा पानीको कलकलाहट,चराचुरुंगीका चिरबिर,किराफट्यांगा र झ्याउँकिरीका किरकिरे आवाज अनि खेल्दै गरेका बालबालिका,हिड्दै र विभिन्न शारीरिक अभ्यास गर्दै गरेका वयस्क र बृद्धबृद्धाहरूको चहलपहलले वातावरण अझ मनोरम बनाएको देखिन्छ ।

वेवसाइटमै यसको छोटकरीमा परिचय यसरी राखिएको छ । एदोगावा नगरमा निर्माण गरिएको फुरुखावा सिनसुइकोउएन पछि निर्मित कोमाचुगावासाकाइगावा सिनसुइकोउएनको निर्माण सन १९८२,ार्च मा भएको देखिन्छ । सुगावाराहासी बाट नाकागावा सम्म फैलिएको यसको लम्बाई ३,९३० मीटर छ । ५ ओटा जोनमा विभाजन गरी निर्माण गरिएको यो बगैँचा  थाकी (झरना) बाट सुरु भई सेसेरागी(पानी बग्दा निस्कने छंगछंग आवाज), मिजुसिबुकी (पानीको छल्का),तोबिइसी(फड्के ढुंगा), चुरीबासी(बल्छी खेल्न वा झुला खेल्न मिल्ने किसिमका झोलुन्गे पुल,साँघु) र ससाना डुंगाले यसको सुन्दरता बढाएका छन् । चारओटै ऋतुमा पानीसँग रमाउदै खेल्न, घुम्न, वाकिंग अथवा एथ्लेटिक्सको मजा लिन सकिन्छ । नदीको दुबैतिर हिड्ने बाटो बनाइएको । त्यसलाई जापानिज भाषामा खेंकोउनोमिचि(स्वास्थ्यको बाटो) नाम दिइएको छ । 

निष्कर्ष : 

विविध कारणले बढ्दै गरेको प्राकृतिक स्रोत साधनको विनासले पारेको वातावरणीय असर कम गर्नुका साथै शहरीकरणले बालबालिका लगायत आम मान्छे प्राकृतिक सौन्दर्यको प्रत्यक्ष अनुभवबाट बन्चित हुँदै गएको सन्दर्भमा सिनसुइकोउएनको अवधारणा निकै उत्तम हुने देखिन्छ । अहिले नेपालमा बढ्दै गएको शहरीकरण,वातावरणीय प्रदूषण अनि त्यसको असरबाट प्रभावित भई असहज जीवनयापन गर्न बाध्य आम जनसमुदायलाई स्वच्छ,सुन्दर,शान्त र हराभरा वातावरणको अनुभूति दिलाई सुन्दर समाजको निर्माण गर्न यसको सिको गर्न आवश्यक देखिन्छ । स्थानीय स्रोत साधन र जनशक्तिको अधिकतम उपयोग गरी हाम्रा बस्तिबस्तिका नजिकमा रहेका खोल्साखोल्सी, कुलेसा, नहरहरूलाई सिनसुइकोउएन (सिमसार बगैँचा)मा परिणत गर्न सके पक्कै पनि बहुलाभ लिन सकिन्छ । विशेष गरी तराईका फाँटहरूमा सिनसुइकोउएनको अवधारणालाई अवलम्बन गर्न सकियो भने गर्मीयाममा पंखाको तातो हावा खाँदै पसिनाका धारा छुटाउदै कोठाचोटामा च्याउँटिएर दिन बिताउनुपर्ने बाध्यताको पनि अन्य हुने देखिन्छ ।

(यस लेखमा वर्णित सिमसार पार्कका केहि तस्बिरहरु)

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार